Bhairahawa Online Logo
Sports

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

Share:
Bhairahawa Online
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले अन्ततः जितको स्वाद चाखेको छ। प्रतियोगिताको चौथो खेलमा नेपालले होबार्ट हुरिकेन्सलाई ६६ रनले पराजित गर्दै अभियानमा महत्वपूर्ण सफलता हात पार्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रनको योगफल बनायो। आरिफ शेख ३३ रनसहित शीर्ष स्कोरर बने भने आसिफ शेखले २९ र कुशल भुर्तेलले २७ रनको योगदान दिए। अन्तिम ओभरतिर लोकेश बमले ११ बलमा अविजित २५ रन प्रहार गर्दै टोलीको स्कोर मजबुत बनाए।

१८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको होबार्ट हुरिकेन्स १६.१ ओभरमै ११४ रनमा अलआउट भयो। नेपाली बलर नन्दन यादव चम्किए, जसले ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले पनि एक–एक विकेट हात पारे।

होबार्टका लागि ब्राड होपले ३१ रन, चार्ली वाकिमले २८ रन बनाए भने जेन कर्टेन २० रनमा अविजित रहे। तर उनीहरूको प्रयास नेपाललाई रोक्न पर्याप्त भएन।

अघिल्ला तीन खेलमा लगातार हार बेहोरेको नेपालका लागि यो जित आत्मविश्वास जगाउने अवसर बनेको छ। अब नेपाल मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्दै सिरिजको यात्रा अगाडि बढाउनेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News