नागरिक उन्मुक्ति पार्टीमा फेरि असफल सत्ता परिवर्तन, रेशमलालको योजनामा लगातार दुई पटक हार

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र अध्यक्ष पद कब्जा गर्ने संरक्षक रेशमलाल चौधरीको दोस्रो प्रयास पनि असफल भएको छ। निर्वाचन आयोगले फेरि पनि रञ्जिता श्रेष्ठलाई नै वैधानिक अध्यक्ष मान्दै चौधरीको पक्षमा आएको निर्णयलाई खारेज गरेको हो।
नाउपा गठनको करिब एक वर्षमै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा उल्लेख्य विजय हासिल गरेको भए पनि पछिल्ला दिनमा पार्टीभित्र आन्तरिक शक्ति संघर्ष चर्किंदै गएको छ।
टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा अदालतबाट जन्मकैद सजाय पाएका चौधरीले २०७९ जेठमा राष्ट्रपतिबाट पूर्ण माफी पाएपछि राजनीतिमा फर्किएका थिए। सुरुमा उनले आफ्नी पत्नी रञ्जितालाई अध्यक्षको जिम्मेवारी दिएका थिए। तर, डेढ वर्ष नबित्दै नेतृत्व लिन महाधिवेशनमार्फत योजना बनाएका उनले २०८० पुसमा अध्यक्ष पदमा निर्विरोध घोषणा भए पनि आयोगले त्यो वैधानिक नभएको ठहर गर्यो।
यसपटक उनले आफ्ना बुवा, सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाउने कदम चाल्दा पनि आयोगले साउन २७ मा त्यो निर्णय ऐन र विधान विपरीत भएको जनाउँदै रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम राख्ने घोषणा गर्यो।
आयोगले चौधरीको उमेदवारी पात्रता, विधान उल्लङ्घन र कार्यसमिति गठन प्रक्रियामा त्रुटि रहेको उल्लेख गरेको छ। साथै, अध्यक्षले पदाधिकारी नभएका चौधरीलाई महाधिवेशन संयोजक बनाएको निर्णय समेत विधानसम्मत नभएको ठहरिएको छ।
यो घटनाक्रमले नाउपामा आन्तरिक द्वन्द्व अझै बढ्ने संकेत देखिएको छ। रञ्जिता श्रेष्ठविरुद्ध अडिओ काण्डदेखि अनुशासन सम्बन्धी विवादका कारण तनाव चुलिएको बेला रेशम पक्षले फेरि सत्ता परिवर्तनको प्रयास गरे पनि परिणाम उनका पक्षमा आएन।
यसअघि रेशमलाल चौधरी अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भए पनि अन्तरिम आदेश भने मिलेको छैन।