Bhairahawa Online Logo
World

अमेरिकामा रहेका नेपालीका लागि राहतस्वरूप टीपीएस म्याद थप

Share:
Bhairahawa Online
अमेरिकामा रहेका नेपालीका लागि राहतस्वरूप टीपीएस म्याद थप

अमेरिका — अमेरिकामा अस्थायी संरक्षण सुविधा (TPS) मा रहेका नेपाली नागरिकहरूका लागि राहतको खबर आएको छ। अमेरिकी संघीय अदालतले टीपीएस खारेजसम्बन्धी निर्णयमा रोक लगाउँदै आगामी नोभेम्बर १८, २०२५ सम्मको म्याद थप गरेको हो। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अगस्ट ५ मा टीपीएस खारेजको सूचना दिएको भए पनि अदालतको आदेशले करिब ७,५०० नेपालीलाई अस्थायी राहत मिलेको छ।

यस मुद्दासम्बन्धी प्रारम्भिक व्यवस्थापन सुनुवाइहरू अगस्ट १४ र अक्टोबर ८ मा हुनेछन् भने नोभेम्बर १८ मा प्रारम्भिक निषेधाज्ञाको टुंगो लाग्नेछ। टीपीएसकै भरमा बसिरहेका करिब ५,००० नेपालीले स्थायी बसोबासको प्रक्रिया सुरु गरिसकेका छन् भने बाँकी करिब २,५०० लाई टीपीएस खारेजको सिधा असर पर्ने देखिन्छ। टीपीएस सुविधा १९९० मा लागू भएको थियो र नेपालले २०१५ मा विनाशकारी भूकम्पपछि यो सुविधा पाएको थियो।

हाल अमेरिकामा १६ मुलुकका करिब ११ लाख मानिस टीपीएसको भरमा बसिरहेका छन्। ट्रम्प प्रशासनपछिका निर्णयहरू अनुसार टीपीएस सुविधा क्रमशः हटाउने प्रक्रिया भइरहेको छ। दीर्घकालीन रूपमा अमेरिकामा बस्न चाहने नेपालीहरूले अब वैकल्पिक कानुनी आधार तयार गर्नुपर्नेछ, अन्यथा म्याद समाप्त भएपछि अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News