डलासमा नेपालीद्वारा गोलीकाण्ड : ३ वर्षीय बालकसहित ३ जनाको मृत्यु

डलास, टेक्सास — डलासमा शनिबार बिहान भएको एक गोलीकाण्डमा एक पुरुषले एक महिला र एक बालकको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना स्थानीय समय अनुसार बिहान करिब २:१० बजे डड्ली स्ट्रिटको १९०० ब्लकमा भएको हो। घटनास्थलमा पुगेका अधिकारीहरूले ५३ वर्षीय ललित प्रधानलाई गोलीको चोट र धारिलो हतियारका घाउसहित फेला पारे। उनलाई डलास फायर–रेस्क्युकाे एम्बुलेन्समार्फत अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भयो।
अनुसन्धानका क्रममा प्रहरीले प्रधानले आफूले चिनेका दुई व्यक्तिलाई गोली हानेको पत्ता लगाएको छ। तीमध्ये ३ वर्षीय प्रणिश प्रधान र ३७ वर्षीया रञ्जना श्रेष्ठ दुवैको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पीडितहरूसँगको सम्बन्ध वा गोली चलाउने कारणबारे अझै विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पीडितहरूको पहिचान ट्यारन्ट काउन्टी मेडिकल इग्जामिनरको कार्यालयले पुष्टि गरेको हो।