प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान यात्रा सुरु, उच्चस्तरीय स्वागत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) का लागि संयुक्त राष्ट्रसंघीय तेस्रो सम्मेलनमा सहभागी हुन सोमबार तुर्कमेनिस्तानको अवाजा सहर पुगेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्थानीय समय अनुसार दिउँसो २:३० बजे दुबई हुँदै अवाजा सहरमा अवतरण गरेको हो।
अवाजा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा, तथा अन्य उच्च अधिकारीहरूले स्वागत गरेका थिए। यो भ्रमण तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा भएको हो।
साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८) सञ्चालन हुने उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील मुलुकहरूको साझा चुनौती, अवसर र नेपालका प्राथमिकताका विषयमा धारणा राख्नेछन्। सम्मेलनले परिवहन पहुँच, व्यापार सहजता, क्षेत्रीय सहकार्य, र दिगो विकासजस्ता मुद्दाहरूमा छलफल गर्नेछ। यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रप्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।