Bhairahawa Online Logo
World

एप्पल र स्याम आल्टम्यानसँगको विवादमा इलन मस्क आक्रामक

Share:
Bhairahawa Online
एप्पल र स्याम आल्टम्यानसँगको विवादमा इलन मस्क आक्रामक
pic : Flickr

एक्स (X) का मालिक इलन मस्कले एप्पलविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । उनले एप्पलले ओपनएआई (OpenAI) को च्याटजीपीटी (ChatGPT) लाई प्राथमिकता दिँदै अन्य एपहरूलाई प्रतिस्पर्धा गर्न कठिन बनाएको आरोप लगाएका छन् ।

मस्कले ओपनएआईका प्रमुख स्याम आल्टम्यानलाई ‘झूटो’ समेत भनेका छन् । आल्टम्यानले मस्कले आफ्नै व्यवसायिक स्वार्थका लागि एक्स प्लेटफर्म प्रयोग गरेको दाबी गरेपछि यी टिप्पणी आएका हुन् । दुवै करोडपतिहरूबीचको यो रस्साकस्सी पुरानै हो । उनीहरू एक समय ओपनएआईका सह-संस्थापक भए पनि अहिले कट्टर प्रतिस्पर्धी बनेका छन् ।

एप्पलले २०२४ को जुन महिनामा च्याटजीपीटीसँगको साझेदारी घोषणा गरेको थियो । कम्पनीले कुनै एक एपलाई मात्र फाइदा दिएको दाबी अस्वीकार गर्दै अन्य एआई एपहरू — जस्तै डीपसिक (DeepSeek) र पर्प्लेक्सिटी (Perplexity) — पनि शीर्ष स्थानमा पुगेको जनाएको छ ।

पछिल्ला पोस्टहरूमा मस्कले एप्पलले आफ्नो “Must Have” सूचीमा एक्स वा उसको एआई च्याटबोट ग्रोक (Grok) समावेश नगरेकोमा आपत्ति जनाए । उनका अनुसार एक्स विश्वकै नम्बर १ न्यूज एप हो र ग्रोक सबै एपमध्ये पाँचौं स्थानमा छ । तर तथ्यांक अनुसार युकेमा च्याटजीपीटी सबैभन्दा बढी डाउनलोड हुने नि:शुल्क एप हो, ग्रोक तेस्रो स्थानमा छ भने एक्स शीर्ष ४० मा पनि छैन ।

आल्टम्यानले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि मस्कले आफ्नै पोस्टहरूलाई प्रयोगकर्ताको फिडमा बढी देखिने बनाएको भन्ने एउटा रिपोर्ट सेयर गरेर व्यंग्य गरे ।

दुवैबीचको विवादको जरा वर्षौं पुरानो हो । मस्कले आल्टम्यानको नेतृत्वमा ओपनएआईले आफ्नो गैर-नाफामुखी र खुला-स्रोत मिशन त्यागेर वाणिज्यिक साझेदारीतर्फ झुकेको आरोप लगाउँदै २०२४ मा मुद्दा दायर गरेका थिए । पछि उनले मुद्दा फिर्ता लिए पनि ओपनएआईले अप्रिलमा मस्कविरुद्ध प्रतिमुद्दा दायर गर्दै उनको ‘खराब नियत’ र कम्पनीको प्रगति रोक्ने प्रयास भएको आरोप लगायो ।

यसबीच मस्कले १०० अर्ब अमेरिकी डलरको प्रस्ताव गरेर ओपनएआई किन्ने प्रयास समेत गरेका थिए, तर बोर्डले अस्वीकार गर्‍यो ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News