भारतको प्रतिक्रिया : लिपुलेक नाका दशकौँदेखि सञ्चालन, नेपालको दाबी आधारहीन

काठमाडौँ - लिपुलेक नाका सम्बन्धी नेपालले व्यक्त गरेको आपत्तिपछि भारतले औपचारिक प्रतिक्रिया दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक विज्ञप्ति जारी गर्दै लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार सन् १९५४ देखि सञ्चालन हुँदै आएको र पछिल्ला वर्षमा कोभिडका कारण अवरुद्ध भए पनि हाल पुनः सुरु गर्ने सहमति भएको स्पष्ट पारे।
भारतले नेपालको तर्फबाट प्रकाशित नयाँ नक्सालाई “एकपक्षीय कृत्रिम विस्तार” भन्दै खारेज गरेको छ। वक्तव्यमा भनिएको छ, “नेपालको सीमा दाबी न त ऐतिहासिक तथ्यमा आधारित छ, न त जायज छ। बाँकी सीमा विवाद भने संवाद र कूटनीतिमार्फत समाधान गर्न भारत सधैं तयार छ।”
यसअघि नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो अभिन्न भूभाग भएको पुनः स्पष्ट पार्दै भारतलाई त्यहाँ कुनै निर्माण वा व्यापारिक गतिविधि नगर्न आग्रह गरेको थियो। तर, चीनको विदेशमन्त्रीको भारत भ्रमणकै क्रममा लिपुलेक नाकाबाट व्यापार पुनः सुरु गर्ने सहमतिबारे जानकारी सार्वजनिक भएपछि भारतले तुरुन्तै यस्तो प्रतिक्रिया दिएको हो।