प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

४ श्रावण २०८२, आइतवार | काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तयारीमा छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको प्रारम्भिक तयारी नेपाल सरकारद्वारा सुरु भइसकेको छ। "प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने नै थियो। भ्रमण हुने कुरा अगाडि बढिसक्यो। तयारीमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लागिसकेको छ," स्रोतले जानकारी दियो।
भ्रमणको मिति र एजेन्डा निर्धारणका लागि नेपाल र भारत दुबै पक्षका अधिकारीबीच छलफल र समन्वय भइरहेको छ। सम्भवतः प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित भारत भ्रमण आगामी भदौ ३१ गते हुने अनुमान गरिएको छ।
प्रधानमन्त्री बनेको एक वर्ष नाघिसक्दासमेत ओली भारत भ्रमणमा गएका छैनन्। यसबीचमा उनले चीनको भ्रमण भने गरिसकेका छन्। नेपालको सार्वभौमिक भूभाग लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्र समेटिएको नयाँ नक्सा जारी गरेपछि भारत र ओलीबीचको सम्बन्धमा चिसोपन आएको छ।
यसअघि ओली र मोदीबीच अन्तिमपटक भेटवार्ता बिमस्टेक सम्मेलनका क्रममा चैत महिनामा थाइल्यान्डमा भएको थियो।