प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको लागि औपचारिक निम्तो

काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरिएको छ। सो निम्तो भारतका विदेशसचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा भेट गरेर प्रधानमन्त्री ओलीलाई बुझाएका हुन्।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार अब दुबै देशका अधिकारीबीच भ्रमणका एजेन्डा र कार्यतालिका तय गर्ने विषयमा छलफल अघि बढ्नेछ। निम्तो स्वीकार भइसकेकाले भ्रमणबारे छिट्टै निर्णय हुने अपेक्षा गरिएको छ।
यद्यपि, नेपाल र भारत दुवै पक्षले प्रधानमन्त्री ओलीको भ्रमण औपचारिक रूपमा घोषणा गरेका छैनन्। अनौपचारिक तयारीअनुसार ओली भदौ महिनाको अन्त्यतिर भारत जाने सम्भावना रहेको बताइएको छ।
नेपाल भ्रमणमा आएका विदेशसचिव मिस्री दुई दिनको औपचारिक यात्रामा छन्। उनले आइतबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए। यसअघि मिस्रीलाई परराष्ट्र सचिव अमृतबहादुर राईले निमन्त्रणा दिएका थिए।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली यसअघि चीनको भ्रमणमा जाने तयारीमा छन्। उनी भदौ १४ गते चीनमा हुने सांघाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागी हुनेछन्। चीन भ्रमणपछि मात्र उनले भारत यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।