न्युयोर्कमा पर्यटक बस दुर्घटना, ५ जनाको मृत्यु, दर्जनौं घाइते

न्युयोर्क - न्युयोर्क राज्यको थ्रुवेमा शुक्रबार दिउँसो भएको भीषण बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
नियाग्रा फल्सबाट न्युयोर्क सिटी फर्किरहेको ५२ जना यात्रु सवार पर्यटक बस पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना स्थानीय समय अनुसार दिउँसो १२:२० बजे पेम्ब्रोके क्षेत्रमा, बफेलो शहरबाट करिब ४० माइल पूर्वमा भएको राज्य प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनामा १ देखि ७४ वर्ष उमेरसम्मका यात्रुहरू सवार थिए। प्रारम्भिक आशंकाअनुसार बालबालिकाको मृत्यु भएको भनिए पनि पछि प्रहरीले सबै मृतक वयस्क भएको पुष्टि गरेको छ।
राज्य प्रहरीका अनुसार बसमा अधिकांश यात्रुले सीटबेल्ट नलगाएको र केही यात्रु बसबाट बाहिरै फ्याँटिएको तथ्य खुलेको छ। उद्धार कार्य केही घण्टासम्म जारी रह्यो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। यद्यपि मेकानिकल खराबी वा चालक मादक पदार्थ सेवनको कारण नभएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरी अधिकारीहरूका अनुसार चालक ध्यान विचलित भई नियन्त्रण गुमाउँदा बस सडक छेउतिर खसेको अनुमान गरिएको छ।
घाइतेमध्ये कम्तीमा ३० जनालाई विभिन्न अस्पताल पुर्याइएको छ। बफेलोस्थित इरी काउण्टी मेडिकल सेन्टरमा २४ जना उपचाररत छन् भने रोचेस्टर मेडिकल सेन्टरमा ६ जना भर्ना गरिएका छन्, जसमा दुईको अवस्था गम्भीर छ।
बसमा रहेका यात्रुहरूमध्ये धेरैजसो भारतीय, चिनियाँ र फिलिपिनी मूलका रहेको बताइएको छ। प्रहरीले अनुवादकमार्फत यात्रुहरूसँग बयान संकलन गरिरहेको छ।
बस कम्पनीका अनुसार दुर्घटनाग्रस्त गाडीमा चालक र अर्को कर्मचारीसहित ५४ जना सवार थिए।