अमेरिकाबाट ७ हजार २४४ भारतीयलाई देश निकाला, ट्रम्प प्रशासनमा तीव्रता

अमेरिकाले पछिल्लो साढे पाँच वर्षमा ७ हजार २४४ भारतीय नागरिकलाई विभिन्न कारणले देश निकाला गरेको छ। भारतीय विदेश मन्त्रालयको तथ्याङ्क अनुसार जनवरी २०२० देखि जुलाई २०२५ सम्मको अवधिमा यो संख्या पुगेको हो। विशेषगरी ट्रम्प प्रशासनको दोस्रो कार्यकाल सुरु भएसँगै देश निकालाको गति तीव्र भएको देखिन्छ।
सन् २०२५ को सुरुवातसँगै ट्रम्प सरकारले अध्यागमन नीतिमा कडाइ गर्दै भिसा नियम उल्लंघन गर्नेहरूलाई प्राथमिकतामा राखेर देश निकाला प्रक्रिया अगाडि बढाएको थियो। अमेरिकी विदेश विभागले भन्छ, “हामी भिसा धारकहरूको निरन्तर निगरानी गर्छौं र कानुन उल्लंघन भएमा भिसा रद्द गरी देश निकाला गरिन्छ।”
देश निकाला गरिएकामध्ये एक हजार ७०३ जना केवल ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि फिर्ता पठाइएको पाइएको छ। तीमध्ये ८६४ जना चार्टर र सैन्य उडानमार्फत, २३१ जना यूएस ICE चार्टर फ्लाइटमार्फत, ३०० जना होमल्याण्ड सेक्युरिटीको चार्टरबाट, र ७४७ जना व्यावसायिक उडानमार्फत स्वदेश फर्किएका थिए।
राज्य अनुसार सबैभन्दा धेरै पञ्जाब (६२०), हरियाणा (६०४) र गुजरात (२४५) का नागरिकहरू प्रभावित भएका छन्। यो संख्या विगतका तुलनामा दोब्बर बढी रहेको उल्लेख गरिएको छ।