Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओलीको भनाइ: कर्णाली र नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओलीको भनाइ: कर्णाली र नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल बनाउन हरेक क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। उनका अनुसार विकासका लागि दोषारोपण होइन, कर्मठ प्रयास र सकारात्मक सोच महत्वपूर्ण हुन्छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन्। उनले भौतिक संरचना र सेवामूलक क्षेत्रमा भइरहेका कामको चर्चा गर्दै कर्णालीमा विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने पुल, रंगशाला लगायतका परियोजनाहरू निर्माण भइसकेको जानकारी दिए।

उनले भने, “कर्णालीमा उत्पादित स्याउ अब बजारसम्म पुग्नेछ। सबै सदरमुकामसम्म पिच सडक पुर्‍याउने योजना अघि बढेको छ। मोटरबाटो हुँदै रारा घुम्ने कुरा अब गीतका शब्द मात्र होइन, वास्तविकता बन्दै गएको छ।”

कार्यक्रममा प्रधानमन्त्रीले सन् २०२६ भित्र नेपाल विकासशील मुलुकको स्तरमा पुग्ने लक्ष्य पुनः दोहोर्याए। साथै, सरकारले आफ्नो क्षमता अनुसार कर्णाली र दुर्गम क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए।

उनले दैलेखमा मिथेन ग्यासको सम्भावना पहिचान भइसकेको उल्लेख गर्दै ऊर्जा स्रोतको उपयोग गर्ने तयारीमा सरकार रहेको जानकारी दिए। साथै, यार्सागुम्बा निर्यातलाई व्यवस्थित गर्ने योजनासमेत अघि सारे।

ओलीले लोकतान्त्रिक गणतन्त्रमा कर्णाली र अन्य क्षेत्रले न्याय पाउने विश्वास व्यक्त गर्दै निरन्तर प्रयासका माध्यमबाट मात्र समृद्ध नेपाल सम्भव हुने निष्कर्ष प्रस्तुत गरे।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News