Bhairahawa Online Logo
Sports

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु हुँदै

Share:
Bhairahawa Online
विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु हुँदै

काठमाडौं - विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि नेपालमा सुरु हुने भएको छ। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुन लागेको दुईदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स गरी पाँच राष्ट्रका ३४ खेलाडीको सहभागिता रहनेछ। भारतबाट १० जना खेलाडी, बाँकी राष्ट्रबाट ८–८ जना खेलाडीले भाग लिने आयोजक महासचिव तथा प्रतियोगिता निर्देशक कुवेरप्रकाश सिंहले जानकारी दिए। भुटान र पाकिस्तान भने प्रतियोगिताबाट बाहिर छन्।

नेपालबाट पुरुषतर्फ संयोग कपाली, रुविन महर्जन, राजीव चिकंबञ्जार र गनन्जय दाहाल तथा महिलातर्फ बियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेलले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टिमको प्रमुख प्रशिक्षक मोहनदास बासुकला, सहायक प्रशिक्षक सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन्।

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ। प्रतियोगिताको विजेता टोली (पुरुष र महिला दुवैतर्फ) ले आगामी सेप्टेम्बरमा इंग्ल्यान्डमा आयोजना हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा सहभागिता जनाउनेछ। साथै, यदि भारतले अक्टोबर ११–१५ मा उडिसामा हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा शीर्ष १२ स्थानमा स्थान बनायो भने, दक्षिण एसियाली छनोटमा दोस्रो हुने राष्ट्रले पनि बेलायतमा हुने प्रतियोगितामा भाग लिन पाउनेछ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगिता नेपाली टेबलटेनिसका लागि ऐतिहासिक महत्वको रहेको बताए। प्रतियोगिता सञ्चालनमा झन्डै ३५ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News