नेपाली कांग्रेसका नेता शर्माको उपसभामुख हटाउने निर्णयप्रति आपत्ति

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको उपसभामुख इन्दिरा राना हटाउने निर्णयको कडा विरोध गरेका छन्। उनले पार्टीभित्र कुनै पूर्व परामर्श नगरी बालुवाटारमा केही नेताहरूले गरेको निर्णयलाई स्वीकार गर्न नसकिने बताए।
“बालुवाटारमा पाक्ने र बुढानिलकण्ठमा पस्कने निर्णयसँग सहमत हुन सकिँदैन,” शर्माले भने। उनले उपसभामुख रानासँग सम्बन्धित घटना गम्भीर भएको स्वीकार गरे, तर उनी विदेशमा भएको बेला हतारमा हटाउने निर्णयलाई अनुचित ठाने। “भूकम्प आएजस्तो आपतकालीन ढंगले उपसभामुखलाई हटाउने सक्रियताप्रति सहमत हुने ठाउँ छैन,” उनले थपे।
रुपन्देही–३ मा हुने उपनिर्वाचनको तयारीमा व्यस्त रहेका शर्माले सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा समेत सहभागी हुन सकेका थिएनन्। उनले पार्टीभित्र संस्थागत छलफल बिना निर्णय लाद्नु गलत भएको बताए। “गम्भीर विषयमा पार्टीको संस्थागत धारणा हुनुपर्छ। कम्तीमा पदाधिकारी तहमा वा सभापति र महामन्त्रीबीच सल्लाह हुनुपर्छ। परामर्शबिना हतारमा यस्तो काम गर्न सकिँदैन,” शर्माले भने।
शर्माले निर्णयको तत्काल आवश्यकता के थियो भनी प्रश्न उठाए। “एक दिन पनि पर्खन नसक्ने कस्तो आपतकालीन अवस्था आयो? उपसभामुखको फिर्ती किन पर्खन सकिएन?” उनले भने, आफू पार्टीको जिम्मेवारीका लागि रुपन्देहीमा रहेको उल्लेख गर्दै।