Bhairahawa Online Logo
News

झलनाथ खनालको टिप्पणी : "माधव नेपालप्रति विश्वास थियो, तर सोच स्तरहीन रहेछ"

Share:
Bhairahawa Online
झलनाथ खनालको टिप्पणी : "माधव नेपालप्रति विश्वास थियो, तर सोच स्तरहीन रहेछ"

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति गहिरो असन्तोष व्यक्त गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष नेपालको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले आफूलाई दुखित बनाएको बताए।

खनालले भने, "३२ वर्ष लामो राजनीतिक सहयात्रा गरेका नेताबाट यस्तो अभिव्यक्ति आउँछ भन्ने कल्पनै गरेको थिइनँ। पार्टी छोड्नुस् भनेर आदेश दिनु कुनै जिम्मेवार नेताको भाषा हुनसक्दैन।"

उनका अनुसार माधव नेपालको सोच र व्यवहार एक जिम्मेवार नेताजस्तो नभई ‘तल्लो स्तरको चिन्तन’ झल्काउने खालको देखिएको छ। उनले थपे, "मैले उहाँलाई भव्य नेता ठानेको थिएँ। तर आजको व्यवहारले त त्यो पेटी बुर्जुवा सोचझैं देखियो।"

खनालले कुनै पनि पार्टी नेताले सहकर्मीलाई पार्टी त्याग्न भन्नु अनुचित हुने बताउँदै माधव नेपालको भनाइले आफूलाई निराश बनाएको बताए। "उहाँका मुखबाट यस्तो कुरा आउँछ भन्ने अपेक्षा थिएन," उनले भने।

पार्टीभित्र बढ्दो असहमति र नेतृत्वप्रतिको आलोचनाबीच खनालको यो टिप्पणीले नेकपा (एकीकृत समाजवादी) भित्र गम्भीर विवाद सतहमा आएको देखिन्छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News