अमेरिकाबाट निष्कासनपछि रास्वपाका पूर्व नेता मोहन थापा काठमाडौं फर्किए

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट निष्कासित भई काठमाडौं फर्किएका छन्।
अमेरिकामा आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्द्धन निकाय (ICE) ले उनलाई करिब पाँच महिना हिरासतमा राखेर साउन २२ गते नेपाल पठाएको हो। थापा भारत हुँदै एयर इन्डियाको एआई–२११ उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।
सन् २०२५ मार्च ११ मा पेन्सिलभेनिया पुगेका बेला नै विमानस्थलमा थापा पक्राउ परेका थिए। ‘इमिग्रेशन जज’ को आदेशअनुसार उनको ग्रीनकार्ड रद्द गर्दै नेपाल फर्काइएको हो।
नेपाल फर्किएपछि अध्यागमन विभागले आवश्यक प्रक्रिया पूरा गरी उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो। प्रारम्भिक फारम भरेर उनले प्रहरीबाट रिहा भएको बताइएको छ।
म्याग्दी घर भएका थापा रास्वपा सभापति रवि लामिछानेका नजिकका मानिन्छन्। रविकै सिफारिसमा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए। यसअघि पनि फर्जी लाइसेन्स र परिचयपत्र बनाएको आरोपमा उनी अमेरिकामा जेल बसेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला थापाले सामाजिक सञ्जालमार्फत विरोधका धम्कीपूर्ण सन्देश दिएका थिए।