दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध गिरफ्तारको आदेश

सियोल — दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध बिहीबार नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ। अदालतमा पटक–पटक उपस्थित हुन अस्वीकार गरेपछि उनलाई जबर्जस्ती पेश गराउन यो आदेश जारी गरिएको हो।
विशेष सल्लाहकार कार्यालयका अनुसार युन र उनकी पत्नी किम केओन हीमाथि चलिरहेको अनुसन्धानमा सहकार्य नगरेको भन्दै उनलाई पुनः नियन्त्रणमा लिनुपर्ने देखिएको छ। युनले गत वर्ष डिसेम्बर ३ मा नागरिक शासन अन्त्य गरी मार्शल कानून लागू गर्ने प्रयास गरेका थिए, जसले दक्षिण कोरियामा तीव्र राजनीतिक संकट निम्त्याएको थियो।
सैन्य हस्तक्षेपको प्रयासपछि उनलाई जनवरी १५ मा गिरफ्तार गरिएको थियो। तर अदालतले प्राविधिक कारण देखाउँदै मार्चमा रिहा गर्ने आदेश दिएको थियो। त्यसपछि पनि प्रमाण नष्ट हुन सक्ने चिन्ताका कारण जुलाईको सुरुमा फेरि हिरासतमा लिइएको थियो।
युनमाथि विद्रोह, सत्ता दुरुपयोग, संसदीय हस्तक्षेपलगायत पाँचवटा मुख्य आरोप छन्। अभियोजन पक्षले उनलाई बारम्बार बयानका लागि बोलाउँदा समेत उनका वकिलले स्वास्थ्य समस्याको कारण देखाउँदै उपस्थित गराएका थिएनन्।
यदि अदालतमा दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्नेछ। संसद्मा सेना परिचालन गरेर मतदान रोक्ने प्रयास, मार्शल कानून घोषणा गर्न खोजेको जस्ता कार्यहरू उनको अभियोगको मुख्य आधार बनेका छन्।
अब अदालतको आदेशअनुसार उनलाई जबर्जस्ती अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइनेछ।