रुसको सुदूरपूर्वमा ५०० वर्षपछि ज्वालामुखी विस्फोट

रुसको सुदूरपूर्वी क्षेत्रमा करिब पाँच शताब्दीपछि पहिलो पटक एक ज्वालामुखी विस्फोट भएको छ। स्थानीय समयअनुसार रातको समयमा विस्फोट भएको उक्त घटनामा ठूलो मात्रामा खरानी आकासमा उडेको देखिएको छ।
कामचटकाको क्राशेनिनिकोभ नामक ज्वालामुखी सक्रिय भएपछि करिब ६ किलोमिटर उचाइसम्म खरानी फैलिएको जानकारी आएको छ। रुसको आपतकालीन सेवा विभागले विस्फोट भएको क्षेत्र मानिसविहीन भएकाले हालसम्म मानवीय क्षति नभएको जनाएको छ।
विज्ञहरूका अनुसार यो ज्वालामुखी विस्फोट हालैको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने देखिएको छ। केही घण्टापछि सोही क्षेत्र नजिकै अर्को ठूलो भूकम्प पनि महसुस गरिएको थियो, जसपछि तीनवटा क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको हो।
बुधबार मात्र उक्त क्षेत्रमा ८.८ रेक्टर स्केलको भूकम्प आएको थियो। यो भूकम्पको असर टाढाटाढा फ्रान्सेली पोलिनेसिया र चिलीसम्म पनि देखिएको थियो, जसका कारण ती देशहरूमा पनि सुनामीको सतर्कता अपनाइएको थियो।
सरकारी अधिकारीहरू र वैज्ञानिकहरू घटनाक्रमको नजिकबाट निगरानी गरिरहेका छन् भने स्थानीय बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।