नेपालले जापानलाई पराजित गर्दै समूह बी को विजेता बन्यो

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाली क्रिकेट टोलीले जापानलाई ५ विकेटले पराजित गर्दै समूह बी को विजेताको रूपमा सुपर सिक्स चरणमा प्रवेश गरेको छ।
ओमानको अल अमिरत क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो। जवाबमा नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नेपालका लागि आसिफ शेखले २१ बलमा ४ छक्का र १ चौकासहित ३८ रनको आक्रामक इनिङ्स खेलेका थिए। कुशल भुर्तेलले २१ रन बनाउँदै सुरुवातलाई गति दिएका थिए। अन्तिम समयमा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले क्रमशः २८ र १४ रन बनाउँदै अविजित रहेर टोलीलाई जित दिलाए।
जापानका कप्तान केन्डेल काडोवकी फ्लेमिङले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६० रन बनाए तापनि त्यो टोलीलाई जित दिलाउन अपर्याप्त सावित भएको थियो।
यस जितसँगै नेपालले समूह बी को विजेताको रूपमा सुपर सिक्स चरणमा स्थान बनाएको छ। नेपालले अब आइतबार समूह ए को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) सँग सुपर सिक्स चरणको खेल खेल्नेछ।