काठमाडौं नजिकको हवाई इन्धन डिपो दुई वर्षमा सारिने, लागत ६ अर्ब ५४ करोड रुपैयाँ अनुमान

बिहीबार, साउन ८, २०८२
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सटिएको हवाई इन्धन डिपो दुई वर्षभित्र सारिने भएको छ। नेपाल आयल निगमले सिनामंगलस्थित पुरानो डिपो हटाएर गुह्यश्वरीस्थित नेपाली सेनाको गोल्फ कोर्स परिसरमा स्थानान्तरण गर्न विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारेको छ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले तयार पारेको DPR बिहीबार औपचारिक रूपमा निगमलाई हस्तान्तरण गरिएको हो। नयाँ डिपो निर्माणको अनुमानित लागत ६ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी हुने जनाइएको छ।
प्रविधियुक्त र पूर्ण सुरक्षित डिपो निर्माण
नयाँ डिपो अत्याधुनिक एल३ स्तरको अटोमेसनसहितको हुने बताइएको छ। प्रस्तावित योजनाअनुसार डिपोमा ४ वटा ३ हजार किलोलिटर क्षमताका भर्टिकल ट्याङ्क रहनेछन्। त्यस्तै, ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा डिस्पेन्सर रहनेछन्।
सुरक्षाका लागि स्वचालित फायर फाइटिङ प्रणाली, २ वटा २,१०० किलोलिटर क्षमताका पानी ट्याङ्क र नेपाली सेनाका लागि विशेष भवन समेत निर्माण गरिनेछ। निर्माणमा अन्तर्राष्ट्रिय मापदण्ड अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (API) र OISD का सुरक्षासम्बन्धी निर्देशिका पालना गरिनेछ।
भाडामा लिइएको जग्गा र लागत विवरण
निगमले नागरिक उड्डयन प्राधिकरण (CAAN) सँगको सहकार्यमा गुह्यश्वरीस्थित करिब १२८ रोपनी जग्गा लिजमा लिएको छ। प्रति स्क्वायर मिटर ६ सय रुपैयाँ भाडा तिर्ने सर्तमा गरिएको सम्झौता अनुसार हरेक वर्ष १० प्रतिशत भाडा वृद्धि हुनेछ।
डिपो निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमार्फत खर्च विनियोजन गरिने र आगामी भदौमा अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिने निगमले जनाएको छ। निर्माण कार्य सन् २०२५ को अन्त्यसम्म सक्ने लक्ष्य राखिएको छ।
स्थानान्तरणको कारण
वर्तमान डिपो त्रिभुवन विमानस्थलको ट्याक्सी वे विस्तार कार्यमा अवरोध भएकाले स्थानान्तरण गर्न लागिएको हो। साथै विमानस्थल नजिक इन्धन डिपो रहँदा सुरक्षा जोखिम पनि उच्च हुने भएकाले स्थानान्तरण आवश्यक भएको बताइएको छ।