अर्थतन्त्रमा सुधार भएको प्रधानमन्त्रीको दाबी, तर सुस्ती हट्न बाँकी

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अर्थतन्त्रमा उल्लेख्य सुधार भएको दाबी गर्दै आर्थिक वृद्धि दर गत वर्षको ३.७ प्रतिशतबाट ४.६ प्रतिशतमा पुगेको बताएका छन्। उनले जीडीपी ४ खर्बले विस्तार भएको, ठप्प रहेका पूर्वाधार परियोजनामा प्रगति भएको र झण्डै तीन दर्जन कानुन संशोधन भई लगानीमैत्री वातावरण बनेको बताएका छन्।
तर अर्थविश्लेषकहरूले भने देखिएको सुधारको मुख्य कारण रेमिट्यान्स वृद्धि र केही वस्तुको निर्यात विस्तार भए पनि यो प्रत्यक्ष सरकारी पहलको परिणाम होइन भन्दै आलोचना गरेका छन्। रोजगारीको खोजीमा विदेशिनेको संख्या बढेपछि रेमिट्यान्स उच्च भएको र भारतको भन्सार दर परिवर्तनका कारण तेलजन्य वस्तुको निकासी बढेको बताइन्छ।
प्रधानमन्त्रीले वित्तीय पहुँच, पुँजी बजारमा लगानीको आकर्षण, बीमा कवरेज र अन्तर्राष्ट्रिय साख मूल्यांकनमा प्राप्त बीबी माइनस रेटिङलाई आफ्नो सरकारको उपलब्धि मानेका छन्। साथै विद्युत् निर्यात, पेट्रोलियम पाइपलाइन विस्तार, उपभोक्ता अदालत सञ्चालन र झोलुंगे पुल निर्माणमा भएको वृद्धि पनि उनले आफ्नो कार्यकालको प्रगति भन्दै संसदमा प्रस्तुत गरेका छन्।