गौतमबुद्ध र पोखरा विमानस्थल निजी क्षेत्रलाई दिन कानुन बनाउँदै सरकार : मन्त्री पाण्डे

भैरहवा — पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले लामो समयदेखि निष्क्रिय रहेका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई निजी क्षेत्रले सञ्चालन गर्न सक्ने व्यवस्था ऐनमै गर्न लागिएको बताएका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पाण्डेले, चलिरहेका विमानस्थल निजी क्षेत्रलाई नदिइने तर निष्क्रिय विमानस्थललाई आवश्यक भए निजी व्यवस्थापनमा दिन सकिने स्पष्ट पारे। उनले विमानस्थल सञ्चालनका लागि संघर्षभन्दा सहजीकरण र सकारात्मक प्रचार–प्रसारमा ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे।
उनका अनुसार विमानस्थल सञ्चालन केवल पर्यटन मन्त्रालयको जिम्मेवारी मात्र नभई अर्थ, परराष्ट्र, गृह, श्रमलगायत अन्य मन्त्रालयहरूको पनि साझा जिम्मेवारी हो। यसका लागि सबै सरोकारवाला निकायबीच तालमेल आवश्यक पर्ने उनको भनाइ छ।
स्थानीय तहका जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा पर्यटन व्यवसायीहरूले विमानस्थल सञ्चालनमा सरकारी उदासिनता, नीति–नियमको कमजोरी र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार अभावलाई मुख्य कारण बताएका छन्। उनीहरूले सरकारले नसके निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने धारणा राखेका छन्।
भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा ठूलो लगानी संकटमा परेको भन्दै व्यवसायीहरूले तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेका छन्। होटल, रियल स्टेट र अन्य क्षेत्रका लगानी धमाधम बैंकको लिलामीमा चढ्न थालेको उनीहरूको गुनासो छ।
मन्त्री पाण्डेले आगामी दिनमा हवाई नीति लचिलो बनाई अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन्।