‘वार २’ ले पहिलो तीन दिनमै १६५ करोड आम्दानी

अयान मुखर्जीको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म *‘वार २’*ले रिलिज भएको तीन दिनमै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिक रोशन र दक्षिण भारतीय सुपरस्टार जुनियर एनटीआर अभिनीत यस फिल्मले घरेलु बजारमा मात्र ४२.३५ करोड कमाएको छ। रिलिजको पहिलो दिन अर्थात् १५ अगस्टमा फिल्मले ५७ करोडभन्दा बढीको व्यापार गरेको थियो।
भारतबाहिर पनि ‘वार २’ ले बलियो प्रदर्शन गरेको छ। दुई दिनमै विदेशबाट मात्रै ३४ करोड आम्दानी गरेको यो फिल्मले विश्वव्यापी रूपमा तीन दिनमा जम्मा १६५ करोड रुपैयाँ कमाएको छ।
फिल्ममार्फत जुनियर एनटीआरले बलिउडमा डेब्यू गरेका छन्। दक्षिण भारतीय चलचित्रमा लगातार हिट दिइरहेका उनको बलिउड प्रवेश सफल हुने संकेत फिल्मको शुरुवाती व्यापारले देखाएको छ।
प्रशंसकहरू विशेषगरी ऋतिक र जुनियर एनटीआरको जोडी पर्दामा देख्न उत्साहित छन्। सकारात्मक व्यापारले ‘वार २’ लाई बलिउडको यो वर्षकै ठुला फिल्ममध्ये एक बन्ने सम्भावना बढाएको छ।