आन्दोलनको असर : हल ठप्प, ‘जारी २’ पनि स्थगित

भैरहवा – जेनजी आन्दोलन र त्यसपछिको कर्फ्युपछि देशभरका चलचित्र हलहरू बन्द हुँदा प्रदर्शनमा रहेका र रिलिज पर्खाइमा रहेका नेपाली फिल्महरू प्रभावित भएका छन्।
भदौ २० गतेबाट प्रदर्शनमा आएको खिलबहादुर गुरुङ निर्देशित फिल्म रिमै तीन दिनमै रोकिएपछि व्यापारमा ठूलो असर परेको छ। अभिनेता दयाहाङ राईका अनुसार हाल फिल्म कहिले पुनः रिलिज गर्ने भन्नेबारे छलफल भइरहेको छ।
त्यस्तै, दर्शक संख्यामा सन्तोषजनक देखिएको ऋषि लामिछाने निर्देशित माग्ने राजा पनि १४औँ दिनमै रोकियो। लेखक सामिप्यराज तिमल्सेनाका अनुसार फिल्मले दैनिक ५०–६० शो पाइरहेको अवस्थामा बन्द भएपछि बक्स अफिसमा घाटा बेहोर्नु परेको छ। जनै हराएको मान्छे, गुन्युचोलो, कोसेढुंगा, र मोहर समेत आन्दोलनका कारण प्रभावित बनेका छन्।
योजना अनुसार गत शुक्रबारदेखि प्रदर्शनमा आउनुपर्ने अभिमन्यु पनि स्थगित भएको छ। निर्माता कम्पनीले जारी विज्ञप्तिमा यस्तो संवेदनशील घडीमा चलचित्र सार्वजनिक गर्नु उचित नहुने भन्दै मिति सारिएको जनाएको छ।
आगामी असोज ३ गते प्रदर्शन हुने भनिएको उपेन्द्र सुब्बा निर्देशित जारी २ पनि तोकिएको समयमा आउन नसक्ने भएको छ। निर्माता रामबाबु गुरुङले देशको माहोललाई मध्यनजर गर्दै दर्शकलाई मनोरञ्जन दिने उद्देश्य तत्काल सम्भव नहुने बताएका छन्। उनका अनुसार वितरण पक्षसँग छलफल गरी उपयुक्त समयमा नयाँ मिति घोषणा गरिनेछ।