नयाँ नेपाली फिल्म ‘अभिमन्यु: अध्याय १’को पोस्टरमा चर्चित कलाकारको झल्को

काठमाडौँ — नेपाली फिल्म 'अभिमन्यु: अध्याय १' को पोस्टर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले दुई फरक पोस्टर सार्वजनिक गर्दै फिल्मको उत्साह बढाएको हो।
पोस्टरमा देखिएका कलाकारहरूमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठ प्रमुख भूमिकामा रहेका छन्। फिल्म केही दिनअघि मात्र सार्वजनिक गरिएको मोसन टिजरपछि अब पोस्टरमार्फत थप चासोको केन्द्र बनेको छ।
‘अभिमन्यु: अध्याय १’ नेपालीसँगै हिन्दी भाषामा समेत रिलिज हुने तयारीमा छ। नेपाली संस्करण भदौ २७ गतेदेखि प्रदर्शनमा आउनेछ भने हिन्दी संस्करण असोज ६ मा दर्शकमाझ ल्याइने निर्माण पक्षले जनाएको छ।
फिल्ममा एक व्यक्तिले पैसाको लोभमा परेपछि त्यहाँबाट उम्किन खोज्दा भोग्नुपर्ने संघर्षलाई केन्द्रबिन्दु बनाइएको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो चलचित्र सुशान्त गौतमको निर्देशनमा तयार भएको हो। यो उनको डेब्यु निर्देशन हो। फिल्मको कथा मुकेश खनालले लेखेका हुन्। छायांकन शरद महतो, रंग संयोजन सुप्रिम पराजुली र सम्पादन मदन घिमिरेले गरेका छन्।