नेपथ्यको पाँच युरोपेली मुलुकमा सांगीतिक यात्रा, अगस्ट ९ बाट सुरु हुने

बिहीबार, साउन ८, २०८२
काठमाडौं — नेपाली लोकरक ब्यान्ड नेपथ्य आउँदो महिनादेखि युरोपका पाँच मुलुकमा सांगीतिक प्रस्तुति दिन लागिएको छ। बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा हुने यो सांगीतिक यात्राको पहिलो कन्सर्ट लन्डनको वेम्बली मा अगस्ट ९ तारिखमा हुनेछ।
ब्यान्डले आफ्नो दोस्रो प्रस्तुति अगस्ट २३ मा डेनमार्कको राजधानी कोपेनहेगन मा दिनेछ। पुलेन हल नामक ऐतिहासिक भवनमा परिवर्तन गरिएको कन्सर्टस्थलमा यो कार्यक्रम हुनेछ। नेपथ्यले सन् २०१६ मा पहिलोपटक कोपेनहेगनमा प्रस्तुति दिएको थियो।
त्यसपछि नेपथ्यको टोली अगस्ट २७ मा माल्टाको आटार्ड सहरस्थित माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल मा प्रस्तुत हुनेछ। युरोप भ्रमणको चौथो गन्तव्य पोर्चुगल हुनेछ, जहाँ राजधानी लिस्बनको लिस्बोआ आओ भिभो मा अगस्ट ३१ मा नेपथ्यका लोकप्रिय गीतहरू गुञ्जिनेछन्।
साङ्गीतिक यात्राको अन्तिम प्रस्तुति सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन सहरको एइडी स्टुडियोज मा हुने तय भएको छ। नेपथ्यले यसअघि सन् २००५ मा एन्थ्रोपेनको आरेनबर्ग थिएटर मा आफ्नो सांगीतिक प्रस्तुतिसहित उपस्थिती जनाएको थियो।
१४ सदस्यीय टोलीले युरोप यात्रा गर्नेछ, जसमा व्यवस्थापन, प्राविधिक र कलाकारहरू समावेश छन्। मुख्य गायक अमृत गुरुङसँगै ड्रममा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, लिड गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी रहनेछन्।
नेपथ्यको यस युरोप टुर नेपाली संगीतप्रेमीहरूका लागि मात्र होइन, युरोपमा रहेका नेपाली समुदायसँग भावनात्मक रूपमा जोडिन पनि महत्वपूर्ण हुने विश्वास गरिएको छ।