साविन राईको कन्सर्टले टेक्सासको अर्लिंगटनमा नेपालीहरूलाई मन्त्रमुग्ध बनायो

अर्लिंगटन, टेक्सास - लोकप्रिय नेपाली गायक साविन राईले अघिल्लो रात टेक्सासको अर्लिंगटनमा आयोजित कन्सर्टमार्फत नेपाली दर्शकलाई मन्त्रमुग्ध पारे। कार्यक्रमले ड्यालस-फोर्ट वर्थ क्षेत्रमा बसोबास गर्ने सयौं नेपालीहरूलाई एकै ठाउँमा ल्यायो।
‘साविन राई एण्ड द फेराओ’ व्याण्डसँगै स्टेजमा उत्रिएका राईले कोमल त्यो तिम्रो, तिमी नै हौ, सम्झना हरु लाई जस्ता आफ्ना हिट गीतहरू प्रस्तुत गर्दै माहोल तताए। उनको जोशिलो प्रस्तुति र दमदार स्वरले दर्शकलाई नाच्न र गुनगुनाउन बाध्य बनायो।
कार्यक्रम संयोजक विशाल खरेलले भने, “यो केवल कन्सर्ट मात्र होइन, यो हाम्रो संस्कृति र समुदायको एकताको उत्सव हो। साविन राईजस्ता कलाकारहरू हाम्रो भावनासँग गहिरोसँग जोडिन्छन्।”
कार्यक्रम अर्लिंगटन म्युजिक हलमा साँझ ७ बजे सुरु भएको थियो र अबेर रातिसम्म चलेको थियो। लामो समयपछि नेपाली कलाकारलाई प्रत्यक्ष हेर्ने मौका पाएका दर्शकहरू निकै उत्साहित देखिन्थे।
३४ वर्षीया शुस्मा थापाले भनिन्, “यो रातले मलाई नेपालका ती किशोरावस्थाका दिनहरू सम्झाइदियो। साविन राईको आवाज अझै पनि गहिरो छाप छोड्छ।”
कन्सर्टमा स्थानीय कलाकारहरूद्वारा छोटो उद्घाटन प्रस्तुति पनि राखिएको थियो भने कार्यक्रमपछि फोटो सेसन र भेटघाटको अवसरसमेत मिलाइएको थियो। आयोजकहरूले आगामी महिनाहरूमा अन्य नेपाली कलाकारहरूलाई पनि टेक्सास ल्याउने तयारी रहेको संकेत दिएका छन्।
नेपालका ‘ब्रायन एडम्स’ उपनामले परिचित साविन राई अहिले अन्तर्राष्ट्रिय सांगीतिक यात्रामा छन् र प्रवासमा रहेका नेपालीहरूसँग गीतमार्फत भावनात्मक सम्बन्ध गाँसिरहेका छन्।