डिंगरनगर सहकारीमा करोडौंको आर्थिक अनियमितता, अडिट रिपोर्टले पुष्टि गर्यो

रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको अडिट रिपोर्टबाट खुलासा भएको छ। सातजना स्वतन्त्र लेखापरीक्षकको टोलीले तयार पारेको अन्तिम रिपोर्टअनुसार सहकारीमा १२ करोड रुपैयाँ हिनामिना, २५ करोड अपचलन, र ८५ करोड रुपैयाँ बराबरको नीतिगत घोटाला भएको पुष्टि भएको हो।
उक्त रिपोर्ट कार्यसमितिले प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाइसकेको छ भने त्यसको अध्ययनपछि थप कानुनी कारबाही अघि बढाइनेछ। यद्यपि रिपोर्ट सार्वजनिक गरिएको छैन, तर स्रोतका अनुसार अनियमितताको स्तर गम्भीर रहेको छ।
सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री फरार रहेका कारण बचतकर्ताहरू अन्यौलमा परेका छन्। उनीहरूले आफ्नो रकम फिर्ताको माग गर्दै नियमित प्रदर्शन गरिरहेका छन्।
अध्यक्ष तिवारीकी पत्नी शारदा तिवारीले करिब ७ करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गर्ने प्रस्ताव गरे पनि अन्ततः उनका जेठाजु तथा सहकारी सल्लाहकार हरि तिवारीको असहमतिका कारण प्रक्रिया अवरुद्ध भएको समन्वय समितिले जनाएको छ।
सहकारीमा देखिएको ठूलो आर्थिक अपचलनका कारण यस संस्थाप्रति विश्वास गुम्दै गएको छ भने पीडित बचतकर्ताहरू अझै न्यायको प्रतीक्षामा छन्।