Bhairahawa Online Logo
Finance

उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारभित्र खातामा जम्मा हुने

Share:
Bhairahawa Online
उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारभित्र खातामा जम्मा हुने

काठमाडौँ — लामो प्रतीक्षापछि सरकारले उखु किसानलाई दिने अनुदान रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले मंगलबार ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत भुक्तानीका लागि पठाएको हो। रकम किसानको व्यक्तिगत बैंक खातामा बिहीबारसम्ममा पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले रकम निकासामा ढिलाइ गरेको थियो। रकम नपाउँदा उखु किसानले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका थिए। अघिल्ला वर्षमा किसानले प्रतिक्विन्टल ७० रुपैयाँसम्म प्रोत्साहन पाउँदै आएका थिए।

कृषि मन्त्रालयले यस पटक पनि सोही दरमा प्रस्ताव पेस गरे पनि मुलुकको आर्थिक अवस्था विचार गरेर सरकारले आधा दर मात्र उपलब्ध गराउने निर्णय गरेको हो।

यसैबीच सिंहदरबारस्थित मन्त्रालयमा उखु किसान र सरकारी प्रतिनिधिबीच वार्ता भएको छ। वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी थिए। किसानतर्फबाट श्यामबाबु रायलगायत प्रतिनिधिहरू उपस्थित थिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News