Bhairahawa Online Logo
Finance

एटीएमबाट नगद झिक्ने दैनिक सीमा घटेर ५० हजार भयो

Share:
Bhairahawa Online
एटीएमबाट नगद झिक्ने दैनिक सीमा घटेर ५० हजार भयो

काठमाडौँ। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार जारी गरेको संशोधित 'भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१' अनुसार अब डेबिट कार्डबाट प्रतिदिन ५० हजार रुपैयाँमात्र नगद झिक्न पाइने छ।

संशोधनपूर्व डेबिट कार्डबाट प्रतिदिन १ लाख रुपैयाँसम्म नगद झिक्न पाउने गरिएको थियो। नयाँ व्यवस्थामा प्रतिकारोबार २० हजार र प्रतिमहिना ३ लाख रुपैयाँसम्म नगद झिक्न पाइने छ। यसअघि प्रतिकारोबार २५ हजार र महिनामा ४ लाख रुपैयाँसम्म झिक्न पाउने सीमा रहेको थियो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले डिजिटल कारोबारलाई बढावा दिने र नगद कारोबार क्रमशः कम गर्ने उद्देश्यले यो कदम चालिएको बताए। "एटीएमको कारोबार बिस्तारै घटिरहेको अवस्थामा डिजिटल कारोबारलाई नै बढाउँदै लगिँदैछौं," उनले भने।

यसबीच प्रिपेड कार्ड र क्रेडिट कार्डको नगद झिक्ने सीमा भने यथावत् रहने छ। प्रिपेड कार्डबाट बैंक तथा वित्तीय संस्थाले प्रतिदिन २० हजार र महिनामा २ लाख रुपैयाँसम्म नगद झिक्न पाइने छ भने क्रेडिट कार्डबाट स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न सकिने छ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार डिजिटल भुक्तानीका विभिन्न माध्यमहरूको प्रयोगमा उल्लेख्य वृद्धि देखिएको छ। गत साउनमा मोबाइल बैंकिङमार्फत ८ खर्ब ७४ अर्बभन्दा बढीको कारोबार भएकोमा एटीएमबाट झिकिएको नगद रकम ८५ अर्ब ८३ करोड रुपैयाँमात्र रहेको छ। यसले डिजिटल भुक्तानीका माध्यमहरूमा ग्राहकको रुझान बढेको देखाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News