साफ यू–१७ च्याम्पियनसिप : श्रीलंकामाथि विजयसहित नेपालको धमाकेदार सुरुआत

कोलम्बो — नेपालले यू–१७ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकामाथि २–० को जित दर्ता गरेको छ। सोमबार कोलम्बोस्थित रेस कोर्स मैदानमा भएको खेलमा समीर कुमारले दुवै गोल गर्दै नेपाललाई विजयी सुरुआत गराए।
नेपालले पहिलो हाफमै खेलमा दबाब कायम राखे पनि गोल गर्ने अवसर सदुपयोग गर्न सकेन। पहिलो हाफको अन्त्यतिर समीर कुमारले दुई प्रहार गोलमा परिणत गर्न नसकेपछि स्कोरलाइन बराबरीमै समाप्त भएको थियो।
दोस्रो हाफमा नेपालले आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ५२ औं मिनेटमा प्रतिश थापा मगरको लामो क्रसलाई अनमार्क रहेका समीरले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए। त्यसपछि खेलमा थप आक्रामक बनेको नेपालले इन्जुरी समयमा समीरकै गोलमार्फत जित पक्का गर्यो।
श्रीलंकाले खेलको २७ औं मिनेटमै ठूलो धक्का खेप्यो। मोहम्मद इमाफ दोहोरो पहेँलो कार्ड प्राप्त गर्दै मैदान बाहिरिएपछि श्रीलंका १० खेलाडीमा सीमित भएको थियो।
यस जितसँगै नेपाल समूह ‘ए’ मा तीन अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। श्रीलंका भने पराजयपछि अंकविहीन रह्यो। समूहमा तीन टिम मात्र रहेको हुँदा नेपालले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
अब नेपालले समूह चरणको दोस्रो खेल बिहीबार बंगलादेशविरुद्ध खेल्नेछ। सो खेलमा सकारात्मक नतिजा हासिल गरे नेपाल सहजै अन्तिम चारमा प्रवेश गर्नेछ।