Bhairahawa Online Logo
Finance

राष्ट्र बैंकले ५० दरका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

Share:
Bhairahawa Online
राष्ट्र बैंकले ५० दरका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं, श्रावण १०, २०८२

नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० दरका ४२ करोड नोट छपाइ तथा आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै सुरक्षित ढंगले नोट छपाइका लागि ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रक्रिया अन्तर्गत बोलपत्र माग गरेको हो।

यस प्रक्रियाअन्तर्गत इच्छुक कम्पनीहरूले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा पेश गर्नुपर्नेछ। बैंकको मुद्रा व्यवस्थापन विभागले आवश्यक बजेट विनियोजन गरिसकेको जानकारी दिइएको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा बोलपत्र दस्ताबेजको मूल्य नेपाली रुपैयाँमा २० हजार तोकिएको छ। विदेशी मुद्रा अनुसार यो मूल्य अमेरिकी डलर १४६, युरो १२६ र पाउन्ड १०९ निर्धारण गरिएको छ। इच्छुक कम्पनीहरूले दस्तावेज खरिद गर्दा सो रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।

बोलपत्र बुझाउने अन्तिम मिति भदौ २३ गतेसम्म तोकिएको छ। प्रस्ताव कम्तीमा १२० दिनसम्म मान्य रहनेछ भने न्यूनतम ४ करोड रुपैयाँ बराबरको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्नेछ।

राष्ट्र बैंकले प्राप्त हुने कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्ने अधिकार आफूमा सुरक्षित रहेको जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News