वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं — युनिटी कप अन्तर्गतको पहिलो खेलमा नेपालले बलियो टोली वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीलाई हराएको मात्र होइन, दुई पटकको विश्वकप विजेतालाई पराजित गर्ने उपलब्धि पनि हासिल गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो। जवाफी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन मात्रै बनाउन सक्यो।
अन्तिम ओभरमा जितका लागि २८ रन आवश्यक थियो। दिपेन्द्र सिंह ऐरीले दबाबपूर्ण बलिङ गर्दै विपक्षीलाई रोक्दै खेल जिताए। उनको उत्कृष्ट स्पेलमा कुशल भुर्तेलले अन्तिम बलमा सानदार क्याच लिए।
वेस्ट इन्डिजतर्फ नवीन विदेशीले २२ रन बनाउँदै सबैभन्दा बढी योगदान दिए भने कप्तान अकेल होसेनले १८ रन जोडे। तर नेपालको बलिङ आक्रमणका अगाडि उनीहरू लामो समय टिक्न सकेनन्। नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए भने नन्दन यादव, रोहित पौडेल, करण केसी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान १–१ विकेट हात पारे।
यसअघि ब्याटिङतर्फ कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले कुशल मल्लसँग मिलेर ५८ रनको साझेदारी गर्दै टोलीलाई सशक्त अवस्थामा पुर्याएका थिए। कुशल मल्लले ३०, गुल्सन झाले २२ र ऐरीले १७ रनको योगदान दिए।
वेस्ट इन्डिजतर्फ जेसन होल्डरले ४ विकेट लिए भने डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट हात पारे।
यस जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो इतिहासमा ठूलो उपलब्धि जोडेको छ, जुन नेपाली क्रिकेटका लागि माइलस्टोन मानिनेछ।