नेप्सेमा ठूलो गिरावट : ६३.७३ अंकले घट्दा कारोबार रकम १३ अर्बमा खुम्चियो

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ। बजारमा लगानीकर्ताको मनोबल घटेसँगै कारोबार रकम पनि उल्लेखनीय रूपमा घटेको छ।
अघिल्लो बिहीबार १५ अर्ब ९८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा आइतबार ३१९ स्क्रिप्सको ३ करोड २२ लाख कित्ता सेयर मात्र किनबेच भई १३ अर्ब ७ करोड रुपैयाँको कारोबारमा सिमित रह्यो।
नेप्सेमा समग्र गिरावट देखिए पनि दुई कम्पनी भने सकारात्मक सर्किट लेभलमा कारोबार गर्न सफल भए – ट्रेड टावर र शिवम् सिमेन्ट हाइड्रोपावर।
त्यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोर्नुपर्यो। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो। कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो।
हिमालयन रिइन्स्योरेन्सले ७१ करोड, हिमालयन डिस्टिलरीले ५८ करोड, शिवम् सिमेन्टले ५५ करोड, र नगदी ग्रुपले ४२ करोड बराबरको सेयर कारोबार गरे।
आइतबारको कारोबारमा जम्मा १६ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको थियो भने २३३ कम्पनीको मूल्य घटेको देखियो। नेप्से परिसूचक उच्च अंकले घटेपछि सबै उपसमूहहरूमा गिरावट देखिएको छ, जसमध्ये माइक्रोफाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.०५ प्रतिशतले घटेको हो।