सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै समूह प्रभावित

काठमाडौं — साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक २७.१४ अंकले घट्दै २७६१.२२ विन्दुमा झरेको छ।
उक्त दिन ३१७ वटा कम्पनीका करिब २ करोड ५ लाख कित्ता सेयर किनबेच भए, जसबाट ७ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। तीमध्ये ५८ कम्पनीको सेयर मूल्य बढे पनि १९१ वटा कम्पनीको मूल्य घटेको छ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। त्यसपछि हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट क्रमशः शीर्ष कारोबार गर्ने कम्पनी बने।
यस दिन कुनै पनि कम्पनीले सकारात्मक सर्किट हिट गर्न सकेन। सबै समूहको उपसूचक नकारात्मक रह्यो भने बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स, बीमा र ट्रेडिङ समूहमा १ प्रतिशतभन्दा बढी गिरावट आएको देखियो।