आज फेरि सुन चाँदी महँगियो, किन बढ्दो छ मूल्य?

काठमाडौं — नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागेको छ। सोमबार सुनको मूल्य पुनः १ सय रुपैयाँले बढ्दै तोलाको १ लाख ९६ हजार ६०० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले उकालो लागेको थियो।
महासंघका अनुसार सोमबारको दरअनुसार तेजाबी सुनको मूल्य पनि बढेर १ लाख ९६ हजार रुपैयाँमा कायम भएको छ। लगातारको मूल्यवृद्धिले सुन खरिद गर्ने ग्राहकहरूलाई थप आर्थिक बोझ परेको देखिन्छ भने विक्रेताहरू भने लाभान्वित भएका छन्।
यसैगरी चाँदीको मूल्यमा पनि ५ रुपैयाँको वृद्धि भएको छ। सोमबार प्रतितोला चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको छ, जुन आइतबारको २ हजार २५० रुपैयाँभन्दा बढी हो। सुनचाँदीको मूल्य वृद्धिको यो क्रम अन्तर्राष्ट्रिय बजारको प्रभावसहित माग–आपूर्तिको सन्तुलनसँग पनि जोडिएको बताइएको छ।