कर्णाली विकास बैंकमा करोडौंको घोटाला, १०९ विरुद्ध मुद्दा दर्ता

नेपालगञ्ज — कर्णाली विकास बैंकमा देखिएको ठूलो आर्थिक अनियमितता प्रकरणमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम सम्बन्धी मुद्दा उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा दर्ता गरिएको छ। बैंकमा अनियमितता गरेको आरोपमा १०९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो, जसमध्ये ४ जना पक्राउ परेका छन् भने १०५ जना अझै फरार छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को विस्तृत अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी, र नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत छन्।
बिगोको विवरण यस्तो छ: राजेन्द्रवीर राय : रु २ अर्ब ६३ करोड ३२ लाख
पशुपति दयाल मिश्र : रु ८२ करोड ४६ लाख
वेदप्रकाश सिंह ठकुरी : रु २४ करोड ६३ लाख
भुवन बस्नेत : रु १० लाख ८९ हजार
अदालतमा पेश भएको मिसिल यो मुद्दासम्बन्धी मिसिल १०८७ पृष्ठ लामो रहेको छ र अदालतमा दर्ता भइसकेको सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए। पक्राउ परेकाहरूको बयान बिहीबारदेखि सुरु हुने जनाइएको छ।
पृष्ठभूमि नेपाल राष्ट्र बैंकले २०८१ सालको पुस १० गते कर्णाली विकास बैंकलाई समस्याग्रस्त बैंक घोषणा गरेको थियो। त्यसपछि बैंकको सम्पूर्ण व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएर उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी सुधार प्रक्रिया अघि बढाएको थियो।
यो मुद्दा हालैका वर्षहरूमा नेपालका बैंकिङ क्षेत्रसँग सम्बन्धित सबैभन्दा ठूलो आर्थिक अनियमितता प्रकरणका रूपमा हेर्न सकिन्छ।