गायक अनिल सिंह र म्युजिक डटकमबीचको विवाद समाधान, अधिकार बाँडफाँटसहित सहमति

काठमाडौं — लामो समयदेखि चलेको गायक अनिल सिंह र म्युजिक डटकमबीचको विवाद अन्ततः सहमति हुँदै समाधान भएको छ। समझदारीअनुसार अब अडियो अधिकार अनिल सिंहसँग रहनेछ भने भिडियो अधिकार म्युजिक डटकमले पाउनेछ।
अनिल सिंहले 'मेगाहर्ज', 'लिमिटेड अडिसन' र 'गायक' एल्बमका २२ गीत म्युजिक नेपालबाट फिर्ता पाएका थिए। यद्यपि ती गीतहरूको डिजिटल अधिकार म्युजिक डटकमसँग रहेकोले विवादको स्थिति बनेको थियो। अब म्युजिक नेपालले वितरणकर्ताको भूमिकामा सीमित रहने र मुख्य कारोबारी पक्ष म्युजिक डटकम रहने सहमति भएको अनिल सिंहले बताएका छन्।
सिंहले पहिले आफूले भावुकतामा सामाजिक सञ्जालमा गरेका केही अभिव्यक्तिहरूका लागि पश्चात्ताप व्यक्त गरेका छन्। उनले लेखेका छन्, “त्यो मेरो मानसिक तनाव र निराशाको क्षणिक अभिव्यक्ति थियो।”
विवाद समाधानमा सहकार्य र समझदारी देखाएको भन्दै उनले म्युजिक डटकमलाई धन्यवाद दिएका छन्। साथै निष्पक्ष प्रविधिक भूमिकाका लागि म्युजिक नेपालप्रति पनि आभार व्यक्त गरेका छन्।
यस सहमतिले नेपाली सांगीतिक क्षेत्रको विवाद समाधानप्रति सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको छ।