फेरि एक वर्ष थपियो बुटवल–नारायणगढ सडक विस्तारको म्याद

बुटवल — बुटवल–नारायणगढ सडक विस्तारको म्याद चौथो पटक फेरि एक वर्षका लागि थपिएको छ। चिनियाँ ठेकेदार कम्पनीले तोकिएको समयमा काम नसकेपछि म्याद थप गरिएको हो।
सडक विस्तार आयोजनाका अनुसार अब पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) को म्याद २०८३ साउन ७ गतेसम्म र पश्चिम खण्ड (दाउन्ने–बुटवल) को म्याद साउन ५ गतेसम्म लम्ब्याइएको छ।
२०७५ सालको चैतदेखि सुरु भएको यस आयोजनाको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन ले तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने थियो। तर, तीन पटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि यो चौथो पटक थपिएको हो। आयोजनाले बताएअनुसार लागत भने अहिलेको १७ अर्बमै सीमित रहनेछ।
सडक विस्तार आयोजना निर्देशक चूडाराज ढकाल का अनुसार चिनियाँ कम्पनी र कन्सल्ट्यान्टले २०८३ माघसम्म म्याद मागे पनि कार्यालयले साउनभित्र काम सक्ने शर्तमा थप समय दिएको हो।
यस आयोजना अन्तर्गत गैंडाकोटदेखि दाउन्नेसम्मको लागत ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ भने दाउन्नेदेखि बुटवलसम्मको लागत ७ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।
सडकको कुल लम्बाइ १ सय १४ किलोमिटरमध्ये २९ किलोमिटरमा चार लेन, ७० किलोमिटर बजार क्षेत्रमा ६ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको निर्माण भइरहेको छ।
तर, कामको गति सुस्त रहेको, हिलो र धुलोले सर्वसाधारण हैरान रहेको गुनासो छ। स्थानीय बासिन्दाहरूको भनाइ अनुसार, दशैंसम्म पनि मार्गमा सुधार नआउने संकेत देखिएको छ।
यस आयोजना एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन छ।