Bhairahawa Online Logo
News

दिनभरको त्रासपछि खुल्यो रहस्य: सिन्धुलीबाट सम्पर्कविहीन परिवार पोखरामा भेटियो

Share:
Bhairahawa Online
दिनभरको त्रासपछि खुल्यो रहस्य: सिन्धुलीबाट सम्पर्कविहीन परिवार पोखरामा भेटियो

सिन्धुली – सोमबार बिहानैदेखि सिन्धुलीको गोलन्जर गाउँपालिका–६ बाट एकैचोटि सम्पर्कविहीन बनेको १६ सदस्यीय परिवारको खोजीले दिनभर देशभरको ध्यान तान्यो। सुरुमा रहस्यमय ढंगले हराएका परिवारको अवस्था थाहा नपाउँदा गाउँमा त्रासको वातावरण सिर्जना भएको थियो।

एक वर्षको सानो बालकदेखि ५० वर्ष नाघेका सदस्यहरू समेत अचानक सम्पर्कबाहिर जाँदा गाउँले, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि समेत चकित भए। सुरुमा कुनै दुर्घटना वा नराम्रो घटना भएको शंका गरिए पनि साँझपख ती सबै सदस्यहरू पोखरामा सुरक्षित रूपमा फेला परेपछि सबैले राहतको सास फेरे।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार, तीमध्ये १५ जनालाई पोखरा महानगरपालिका–३० स्थित एक निजी घरमा फेला पारिएको हो। “गृह मन्त्रालयदेखि स्थानीय तहसम्म सक्रियतापूर्वक खोजी गरिरहेका थियौं,” उनले भने, “अन्ततः कास्की प्रशासनको समन्वयमा उनीहरूलाई भेट्न सक्यौं।”

गाउँमा उर्मिला हायु नेतृत्वको उक्त परिवार हराएको खबर फैलिएसँगै सयौं गाउँले खोजमा लागेका थिए। प्रहरी, सशस्त्र, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीसमेत दिनभर सक्रिय रहे।

हालसम्म उनीहरूले पोखरा जानुको कारण स्पष्ट नपारेको बताइएको छ। प्रशासनले थप अनुसन्धान अघि बढाइरहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News