पक्राउ परेकाको तस्बिर र भिडियो सार्वजनिक गर्न नपाइने, प्रहरीको स्पष्ट निर्देशन

साउन ७, २०८२, बुधबार काठमाडौं – अबदेखि कुनै अपराधसँग जोडिएर पक्राउ परेका व्यक्तिको तस्बिर वा भिडियो सार्वजनिक गर्न नपाइने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी इकाइहरूलाई परिपत्रमार्फत यस्तो निर्देशन जारी गरेको हो।
प्रहरीका अनुसार, पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति वा सार्वजनिक सूचना प्रकाशनका क्रममा पक्राउ परेका व्यक्तिको अनुहार देखिने सामग्री (फोटो वा भिडियो) मिडियामा पठाउने वा सार्वजनिक गर्ने कार्य तत्काल रोक्न भनिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार, महान्यायाधिवक्ताको कार्यालयले यसबारे स्पष्ट निर्देशन दिएपछि प्रहरी संगठनले त्यसलाई कार्यान्वयनमा ल्याएको हो।
उनका अनुसार, असारमै महान्यायाधिवक्ताको कार्यालयबाट निर्देशन आएको थियो र त्यसको आधारमा साउन ७ गतेदेखि सबै प्रहरी इकाइमा परिपत्र पठाइएको हो।
यद्यपि जघन्य प्रकृतिका अपराध वा सार्वजनिक सरोकारका घटनामा विशेष परिस्थिति उत्पन्न भएमा सम्बन्धित निकायको स्वीकृति लिएर तस्बिर वा भिडियो सार्वजनिक गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यो निर्णयले अनुसन्धानको गोपनीयता र व्यक्तिको मौलिक हकको सम्मान गर्ने उद्देश्य राखेको प्रहरी स्रोतको भनाइ छ।