किशोरीको प्रेमीको घरमा रहस्यमय मृत्यु

काठमाडौं
ललितपुर, इमाडोलमा सामाजिक सञ्जालमार्फत चिनजान भएका १८ वर्षीय किशोरलाई भेट्न गएकी किशोरीको शंकास्पद मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका-३, बोझेपोखरीकी किशोरी बुधबार दिउँसो किशोरको घर पुगेर छतको कोठामा बेहोस भएकी थिइन्।
किष्ट अस्पताल पुर्याउँदा उनलाई मृत घोषित गरियो। प्रहरीले किशोर आर्यन पाण्डेलाई नियन्त्रणमा लिएर हत्या र जबरजस्ती करणीको अनुसन्धान गरिरहेको छ। किशोरीको शरीरमा चोट नदेखिएको र भिसेरा जाँचका लागि शव टिचिङ अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका डिएसपी चक्रराज जोशीका अनुसार, किशोरी र किशोर केही महिनादेखि प्रेम सम्बन्धमा थिए। घटनास्थलमा चिठीपत्र फेला परेको र अस्पताल पुर्याएपछि मात्र प्रहरीलाई खबर गरिएको थियो। पोष्टमार्टम रिपोर्टले मृत्युको कारण खुल्ने अपेक्षा छ।