विपिन जोशीको परिवारले इजरायली राष्ट्रपतिसँग भेट, शीघ्र रिहाइका लागि पहलको आग्रह

जेरुसेलम — हमासद्वारा अपहरण परेका नेपाली युवा विपिन जोशीको परिवारले उनको रिहाइका लागि इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेको छ। आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति हर्जोगलाई भेटी विपिनलाई चाँडै मुक्त गर्न मानवीय आधारमा सहयोग गर्न अपिल गरेका हुन्।
भेटका क्रममा नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि उपस्थित थिए। आमा पदमाले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै तत्काल पहल गर्न आग्रह गरिन् भने बहिनी पुष्पाले अन्तर्राष्ट्रिय तहमा थप दबाब सिर्जना गर्न इजरायली पक्षसँग माग गरिन्।
राष्ट्रपति हर्जोगले इजरायलले विपिनलाई आफ्ना नागरिकझैँ मानेर बचाउन निरन्तर प्रयास भइरहेको बताए। उनले नेपाल सरकार पनि सम्बन्धित देशहरूसँग सक्रिय बने थप प्रगति सम्भव हुने विश्वास व्यक्त गरे।
यस्तै, विपिनको परिवारले इजरायली संसदका सभामुख अमिर ओहानासँग पनि भेट गरेका थिए। सभामुख ओहानाले नेपाल–इजरायलको मित्रवत सम्बन्धलाई स्मरण गर्दै विपिनसहित सबै बन्धकको सुरक्षित रिहाइका लागि सरकार भरमग्दुर प्रयासरत रहेको जानकारी दिए।