रुपन्देहीको नयाँमिल विद्युत् काउन्टर भदौ २ देखि बन्द, डिजिटल भुक्तानी अनिवार्य हुने

रुपन्देही - नेपाल विद्युत् प्राधिकरण अन्तर्गत मणिग्रामस्थित नयाँमिल वितरण केन्द्रले आगामी भदौ २ गतेदेखि महसुल संकलन काउन्टर सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। अबदेखि सम्पूर्ण ग्राहकले डिजिटल माध्यमबाट मात्र महसुल भुक्तानी गर्नुपर्ने भएको छ।
केन्द्र प्रमुख रितेश गुप्ताका अनुसार हाल ८१ प्रतिशत सेवाग्राही अनलाइन प्रणालीमार्फत महसुल बुझाउँदै आएका छन् र काउन्टरमा ग्राहकको चाप घट्दो क्रममा छ। डिजिटल प्रणालीले सेवा प्रवाहमा पारदर्शिता, सहजता र स्रोतको बचत हुने भएकाले यो निर्णय लिइएको उनले जानकारी दिए।
डिजिटल माध्यमहरू: ईसेवा, खल्ती, फोनपे, आइएमई पे
मोबाइल बैंकिङ एप्स
नेपाल विद्युत् प्राधिकरणको वेबसाइट वा एप
डिजिटल भुक्तानी सातै दिन, बिहान ८ बजेदेखि राति १२ बजेसम्म गर्न सकिनेछ। सेवाग्राहीलाई सजिलो होस् भन्नका लागि केन्द्रले डिजिटल हेल्प डेस्क समेत सञ्चालनमा ल्याएको छ।
नयाँमिल केन्द्र नेपालकै पहिलो वितरण केन्द्र बन्नेछ जुन पूर्ण रूपमा डिजिटल महसुल संकलन प्रणालीमा रूपान्तरण हुने छ।
प्राधिकरणले सेवाग्राहीलाई समयमै डिजिटल प्रणाली प्रयोग गर्न आह्वान गर्दै आवश्यक जानकारी लिन अनुरोध गरेको छ।
