Bhairahawa Online Logo
News

वीरगन्ज कारागारका कैदीको मृत्युपछि ७ सदस्यीय छानबिन समिति गठन

Share:
Bhairahawa Online
वीरगन्ज कारागारका कैदीको मृत्युपछि ७ सदस्यीय छानबिन समिति गठन

वीरगन्ज — वीरगन्ज कारागारमा कैद सजाय भोगिरहेका २८ वर्षीय राहुल साह तुराहाको उपचारका क्रममा मृत्यु भएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले सात सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले गर्नेछन्।

कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि कैदमा रहेका साह मंगलबार बिहान कारागारभित्र व्यायाम गर्ने क्रममा अचानक स्वास्थ्य समस्या आएपछि नारायणी अस्पताल लगिएको थियो। सुरुवातमा आइसियु वार्डमा बेड नपाएपछि उनलाई अन्य अस्पताल लैजान सुझाव दिइएको थियो। पछि बेडको व्यवस्था गरेर उपचार सुरु गरिए पनि बिहान १०:३० बजे उनको मृत्यु भयो।

मृतकका आफन्तले आवश्यक उपचार नपाएको र प्रशासनले अन्य अस्पतालमा लैजान रोकेको आरोप लगाउँदै अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए।

विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा मृतक पक्ष, जनप्रतिनिधि, प्रहरी अधिकारी र सरोकारवालाबीच छलफल भएको थियो। छलफलपछि गठित समितिमा प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी, मृतक पक्षका प्रतिनिधि, मानव अधिकारकर्मी, नेपाल चिकित्सक संघ र नेपाल पत्रकार महासंघ पर्साका एक–एक जना प्रतिनिधि सामेल छन्।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय र मृतकका आफन्तबीच सहमति भएपछि शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News