डण्डाखोलामा डुबेर दुई बालकको मृत्यु

श्रावण ११, २०८२ | रूपन्देही — पक्लिहवा कृषि क्याम्पसको पछाडिको डण्डाखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको ज्यान गएको छ। शनिबार दिउँसो करिब ३ बजे घटेको उक्त घटनामा डुबेर मृत्यु हुने बालकहरू सिद्धार्थनगर नगरपालिका क्षेत्रका हुन्।
रूपन्देही प्रहरीले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा सिद्धार्थनगर–९ भट्टटोल निवासी चण्डीप्रसाद अर्यालका १४ वर्षीय छोरा प्रज्वल अर्याल र सिद्धार्थनगर–७ निवासी लीलाधर न्यौपानेका १५ वर्षीय छोरा दिनेश न्यौपाने रहेका छन्।
दुवै बालक साथीसँगै खोलामा पौडी खेल्न गएका थिए। स्थानीयको सहयोगमा उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। गर्मीयाममा पौडी खेल्न बालबालिका खोलातर्फ आकर्षित हुने गरेकाले यस्ता जोखिमबाट बच्न अभिभावक र विद्यालयलाई पनि सचेत रहन आग्रह गरिएको छ।
