आज नागपञ्चमी : नागको पूजा आराधना गरी मनाइँदै

रुपन्देही — आज देशभर हिन्दू धर्मावलम्बीहरूले श्रद्धाका साथ नागपञ्चमी पर्व मनाउँदैछन्। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा सर्पदेवताको पूजा गरी घरको मूलढोकामा नागको प्रतीक स्वरूप तस्बिर टाँस्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार, नागको कृपाले घर परिवारमा समृद्धि, रोग निवारण र प्राकृतिक प्रकोपबाट सुरक्षा मिल्ने विश्वास गरिन्छ। साथै, नागको तस्बिर टाँस्दा वर्षभर सर्प, बिच्छी र अन्य घिस्रने जनावरको भय हट्ने र आगो, मेघगर्जन तथा चट्याङबाट समेत रक्षा हुने मानिन्छ।
वैदिककालदेखि सुरु भएको पूजा परम्परा पौराणिक ग्रन्थहरूका अनुसार नागदेवताको आराधना वैदिक कालदेखि हुँदै आएको हो। नागलाई जलका संरक्षक र सर्प जातिको राजा मानिन्छ। बराहपुराणमा उल्लिखित ब्रह्मा–नाग संवादका आधारमा यो दिन विशेष मानिएको हो।
धार्मिक शास्त्रविद्हरूका अनुसार हरेक घरको जगमा नागको वास हुने विश्वास छ। घरको मूलाधारलाई सुरक्षित राख्न नाग प्रसन्न पार्नुपर्ने मान्यता अनुसार यो पूजा गरिएको हो। भगवान् शिव र विष्णुसँग नागको विशेष सम्बन्ध रहेकाले पनि यसको महत्व अझ बढेको छ।
नागका आठ स्वरूपको विशेष आराधना यो दिन नागका आठ कूल – अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख – को पूजा गरिन्छ। ब्राह्मण पुरोहितमार्फत पूजा गरी यी नागको तस्बिर घरको प्रवेशद्वारमा टाँस्ने चलन छ।
पर्वका दिन खेतबारीमा खनजोत नगर्ने, सर्प वा नागलाई हानि नपुर्याउने र दुबो, दूध, खीर, रोटीलगायत परिकार चढाउने परम्परा रहिआएको छ।
विशेष स्थलहरूमा दर्शन र आराधना काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका प्रसिद्ध नागस्थान र कुण्डहरूमा विशेष पूजा अर्चना गरिँदैछ। श्रद्धालुहरूले गाईको दूध, अक्षता, दुबो र मिष्ठान्न अर्पण गरी नागदेवताको कृपा प्राप्त गर्ने कामना गरिरहेका छन्।
नागपञ्चमी केवल पूजा मात्र नभई सर्प र प्रकृतिको सम्मान गर्ने पर्व हो, जसले मानव र प्राणीबीचको सन्तुलन र सहअस्तित्वको सन्देश दिन्छ।
