Bhairahawa Online Logo
News

मनसुनसँगै डेंगु संक्रमण तीव्र

Share:
Bhairahawa Online
मनसुनसँगै डेंगु संक्रमण तीव्र
pic : Wikimedia

काठमाडौं — वर्षासँगै देशभर डेंगुका संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य सेवा विभागका तथ्यांकअनुसार, जुन महिनामा ४९५ मात्र संक्रमित भेटिएकोमा जुलाईमा यो संख्या बढेर १,९०६ पुगेको छ, जुन चार गुणा वृद्धि हो।

प्रदेशगत विवरण हेर्दा गण्डकी प्रदेश ७८७ संक्रमितसहित सबैभन्दा बढी प्रभावित बनेको छ। त्यसपछि बागमतीमा ५५९, कोशीमा ४७४, लुम्बिनीमा ४३४ र सुदूरपश्चिममा ३२७ संक्रमित छन्। यस वर्षको सुरुवातदेखि अगस्ट ६ सम्ममा ७४ जिल्लामा फैलँदै २,६८८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

जोखिमको मौसम र अनुमान असारदेखि कात्तिकसम्म डेंगु फैलावट उच्च हुने जोखिम रहने स्वास्थ्य विज्ञहरूको भनाइ छ। मन्त्रालयले यस वर्ष करिब ६० हजारभन्दा बढी संक्रमित हुने अनुमान गरेको छ, यद्यपि वास्तविक संख्या योभन्दा धेरै हुनसक्ने चेतावनी दिइएको छ।

संक्रमण रोकथामका लागि साउनलाई ‘डेंगु सचेतना महिना’ घोषणा गरिएको छ। संघीय सरकारले २०८२/८३ का लागि १ करोड २० लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएको छ भने स्थानीय तहहरूले पनि करिब ४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेका छन्।

रोकथामका उपायहरू डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। नेपालमा यसको सबै चार प्रकार पत्ता लागेका छन्, जसमा प्रकार–३ बढी देखिन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार लामखुट्टेको अण्डा, लार्भा र प्यूपा पानीमा विकास हुने भएकाले, टायर, गमला, भाँडाकुँडा, कुलरजस्ता ठाउँमा पानी जम्न नदिने नै मुख्य रोकथाम हो।

उच्च ज्वरो, टाउको वा आँखाको गेडी दुखाइ, शरीरमा बिमिरा देखिनु वा रगत बग्ने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान र चिकित्सकको सल्लाहबिना औषधि नखान सुझाव दिइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News