यूएईस्थित नेपाली दूतावासद्वारा स्थानीय कानुन पालना गर्न आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली दूतावासले यूएईमा विभिन्न पेशा तथा क्षेत्रमा कार्यरत नेपालीलाई स्थानीय कानुन र नियमहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
हालै श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर अपराध, ट्राफिक नियम उल्लंघन तथा स्वतन्त्र भिसाको दुरुपयोगमा नेपालीहरू संलग्न भएको घटनाहरू बढ्दै गएपछि दूतावासले यस्तो सूचना सार्वजनिक गरेको हो।
यूएईले सेप्टेम्बर ८ देखि नेपालीका लागि नयाँ श्रम तथा भिजिट भिसा रोक्का गरेकै समयमा दूतावासले सचेतना जारी गरेको हो। तर भिसा रोक्नुको कारणबारे यूएईले औपचारिक जानकारी दिएको छैन।
दूतावासले जारी गरेको सूचनामा ११ बुँदा समेटिएको छ। त्यसअनुसार:
* श्रम तथा रोजगारसम्बन्धी विद्यमान कानुन, नियम र मूल्य मान्यताको पालना गर्ने। * रोजगारदाता परित्याग गरी अवैधानिक रूपमा भाग्ने काम नगर्ने। * कम्पनी वा संस्थासँगको वैधानिक सम्झौता विपरीत गतिविधि नगर्ने। * ट्राफिक नियम पालना गर्ने र आवासीय परिचयपत्र सधैं साथमा राख्ने। * इमानदार, अनुशासित र कानुनसम्मत आचरण गर्ने। * पासपोर्ट, इमिरेट्स कार्ड वा बैंक कागजात अरूलाई नदिने। * सामाजिक सञ्जालमार्फत अनुचित वा आपत्तिजनक सामग्री पोस्ट नगर्ने। * अनधिकृत संस्था वा समूह गठन नगर्ने। * सांस्कृतिक वा धार्मिक कार्यक्रम गर्दा दूतावासलाई पूर्वजानकारी दिने। * समुदायबीच एकता, सहकार्य र सद्भाव कायम राख्ने।
दूतावासले नियम उल्लंघन गर्नेहरू कानुनी कारबाहीमा पर्न सक्ने चेतावनीसमेत दिएको छ।
यूएई नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। हाल त्यहाँ करिब **८ लाख नेपाली** बसोबास र रोजगारमा संलग्न छन्। गत वर्ष मात्र करिब **२ लाख ६४ हजार नेपाली** यूएई गएका थिए।
---