Bhairahawa Online Logo
Finance

राष्ट्र बैंकको नयाँ निर्देशन : महिलालाई रोजगारी दिने उद्योगलाई विशेष कर्जा सहुलियत

Share:
Bhairahawa Online
राष्ट्र बैंकको नयाँ निर्देशन : महिलालाई रोजगारी दिने उद्योगलाई विशेष कर्जा सहुलियत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ एकीकृत निर्देशन जारी गर्दै महिलालाई रोजगारी दिने उद्योग र हालका आन्दोलन तथा प्राकृतिक प्रकोपबाट प्रभावित व्यवसायलाई विशेष सहुलियत दिने व्यवस्था गरेको छ।

निर्देशनअनुसार कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गर्दै न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गर्ने र उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ। यसका लागि इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा १ प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा प्रवाह गर्न सक्ने प्रावधान गरिएको छ।

त्यस्तै, जेनजी आन्दोलनका क्रममा प्रत्यक्ष प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान तथा कर्मचारीलाई तलबभत्ता जस्ता सुविधाका लागि आधारदरमा बढीमा ०.५० प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा उपलब्ध गराइनेछ। यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिभित्र जुन छोटो हुन्छ, त्यति अवधिसम्म मात्र प्रवाह गर्नुपर्नेछ। यसरी प्रवाह भएका कर्जामा २ प्रतिशत ब्याजदर सरकारबाट अनुदानमा उपलब्ध हुनेछ। रोजगारी दिने संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्ने व्यवस्था छ।

साथै, आन्दोलनका कारण क्षति भएका व्यवसायिक ढुवानी साधन प्रतिस्थापन गर्न ऋण मूल्य अनुपात ८० प्रतिशत कायम गरी कर्जा उपलब्ध गराउन सकिने उल्लेख छ।

यस्तै, रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण प्रभावित कर्जा सम्बन्धित इजाजतप्राप्त संस्थाले ऋणीको अनुरोधमा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको छ। तर, पुनर्तालिकीकरण गरिएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमै कायम हुने निर्देशन राष्ट्र बैंकले दिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News